शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्नु पर्ने प्रचण्डको प्रस्ताव, संविधान संसोधनकालागि संघर्ष गर्ने

सोमबार, पुष १२ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरुप सम्बन्धमा संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।

पार्टीको ८ औं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा  अध्यक्ष दाहालले समाजवाद उन्मुख मूलभूत कार्यदिशा लिँदै संविधान संशोधनका लागि सडक, सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्नु पर्ने प्रस्ताव गरेका हुन् ।

माओवादीको ८ औं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा दाहालले निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे संविधान संशोधनको एजेण्डा जनतामा लिएर जाने बताएका छन् ।

माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने भन्दै संविधान जारी गर्ने बेलामा पनि  फरक मत राखेको थियो । दाहालले समाजवाद उन्मुख मूलभूत कार्यदिशा लिँदै यीनै मुद्दाका लागि सडक, सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्ने बताएका छन् ।

दाहालले वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण सेटिङ असफल भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यस्तै, स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन्

दाहालको वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि बन्द सत्रमा समूह विभाजन गरी छलफल  गर्ने  माओवादी केन्द्रले जनाएको छ।

बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल, रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ।