काठमाडौं । सोलुखुम्बुको सोलुखोला दुधकोशी हाइड्रोपावरमा पाइप विष्फोटमा परी दुईजना इन्जिनियरको मृत्यु भएको छ । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा थप एकजना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनामा अछामका सुवास रेग्मी र काभ्रेका अर्जुन थापाको मृत्यु भएको सोलु प्रहरीले जनाएको छ ।
पानीको प्रेसर नमिलेका कारण पाइप पड्किएर दुर्घट्ना भएको भनिएको छ ।
दुर्घटनामा बेहोस भए लगत्तै उनीहरुलाई उपचारका लागि ओखलढुंगा अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नेबित्तिकै दुवैजनालाई डाक्टरले मृत घोषणा गरेका थिए । घाइते भएका मोहम्मद राइनलाई भने थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
सोलुखुम्बु प्रहरी इन्स्पेक्टर ओमप्रकाश यादवले घाइते एकजनालाई उपचारका लागि काठमाण्डौं पठाइएको बताए ।
सो आयोजनाले थुलुङ दुधकोशी गाउँपालिकामा ८६ मेगावाटको विद्युतगृह बनाइरहेको छ ।