काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नयाँ नेतृत्व र टिम कायम गरेको छ। प्रदेश २ को समेत अधिवेशन भइसकेपछि कांग्रेसले सभापतिमा शेरबहादुर देउवालाई कायम गर्दै काँचुली फेरेको छ।
तर केन्द्रीय समितिमा कतिपय नयाँ अनुहार अटाएनन् भने पुराना लखेटिएका छन्। पदाधिकारीमा आमूल परिवर्तन जस्तै अनुहारले स्थान पाए पनि केन्द्रीय समितिमा देउवा दुई तिहाईले स्थापित भएका छन्।
तर यो काँचुली फेरेको जस्तो देखिने केन्द्रीय समितिमा होनाहार नेता आएका छैनन्। न उनले उम्मेदवारी दिए न यो टिममा बस्ने नै रुची देखाए। भारतको मुम्बईमा उपचाररत रहेका नेता प्रदीप गिरी नअटाएका हुन्। उनी बौद्धिक र शालिन नेताका रुपमा स्थापित छन्।
प्रतिनिधि सभामा कांग्रेसको प्रतिनिधित्व गर्ने गिरी देउवाकै समकक्षी नेता पनि हुन्। ‘उहाँलाई वारेसमार्फत उम्मेदवारी दिलाउन सकिने थियो तैपनि केही विग्रिएको छैन’, एक नेता भन्छन्,‘सभापतिले मनोनित गर्ने व्यवस्थाअनुसार केन्द्रीय समितिमा गिरीलाई ल्याउन सकिन्छ।’
गिरीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुुन थालेको बताइएको छ। यद्यपि उनी पूर्ण रुपमा स्वस्थ्य हुन केही समय लाग्ने बताइन्छ।