काठमाडौं। आगामी साता नेकपा माओवादी केन्द्रले काठमाडौंमा १५ सय प्रतिनिधिको उपस्थितिमा राष्ट्रिय सम्मेलन गर्दैछ। यो सम्मेलनले मुख्य नेतृत्व परिवर्तनको एजेन्डालाई उठाउन असम्भव रहेको नेताहरू बताउँछन्।
कतिपयले महाभारतमा भिष्मले आफू ढल्ने विधि अर्जुनलाई नबताएसम्म उनी नै पुज्यनीय रहेजस्तो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफू अलग हुने नबताएसम्म नेतृत्व परिवर्तन हुन नसक्ने ठोकुवा गरेका छन्।
नेता राम कार्कीलाई उदृत गर्दै बीबीसी नेपाली सेवाले उक्त विषयलाई सतहमा ल्याएको छ। तर माओवादीभित्र दोस्रो नेताको खोजीचाहिँ हुने कतिपयको आँकलन छ। खासगरी बहुपदीय प्रणालीमा जान लागेको माओवादीमा महासचिव को हुनेछन् भन्ने विषयले चर्चा पाएको छ।
‘प्रचण्डपछिको नेताको खोजी हुनेछ। अझ एक दशकसम्म प्रचण्डको नेतृत्व परिवर्तन हुने सम्भावना देखिँदैन’, एक नेता भन्छन्,‘तर महासचिव पदमा भने भिडन्त हुन सक्छ।’
त्यसो त दोस्रो बरियतामा रहेको भनिएका नेता नारायणकाजी श्रेष्ठले पनि पार्टी रुपान्तरणको दिशामा अघि बढ्नका लागि अहिले प्रचण्डको नेतृत्व नै अनिवार्य हुने बताइसकेका छन्।
माओवादी यसअघि बहुपदीय प्रणालीमा थियो। तर उपाध्यक्षका रुपमा रहेका मोहन वैद्य किरण, डा. बाबुराम भट्टराईलगायतका नेता उक्त पार्टीबाट अलग भइसकेका छन्। महासचिव रहेका रामबहादुर थापा बादल एमाले उपाध्यक्ष छन्।
यस पटक महासचिवका लागि माओवादीमा जनार्दन शर्मा, बर्षमान पुन र कृष्णबहादुर महराको भिडन्त हुने आँकलन गरिएको छ। कतिपयले भने अध्यक्ष बाहेकका पद थाँती राख्न सकिने पनि उल्लेख गरेका छन्। महासचिवमा एकीकरण गरी नेत्रविक्रम चन्दलाई ल्याउने तयारी समेत भएको विवरण सतहमा आएका थिए।
महाभारतमै पनि भिष्मपछिको शक्तिशाली अर्जुन भएका कारण माओवादीमा प्रचण्डपछिको शक्तिशाली वा नेतृत्व लिन सक्ने महासचिवको खोजी हुने बताइन्छ। तर, कसले उक्त जिम्मेवारीको काँध थाप्ने भन्नेचाहिँ अहिले यकिन गर्न असम्भव रहेको बताइन्छ।