काठमाडौं। नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्य पदका ३५ जनाको नतिजा आएको छ। यसमा विद्यार्थी, तरुण नेतादेखि पत्रकारसम्मले बिजय प्राप्त गरेका छन्। तर शक्तिशाली व्यक्ति भने केन्द्रीय समितिमा आउनका लागि कोटा र आरक्षणको साहरामा उभिएका छन्।
तर दुई शक्तिशाली व्यक्तिले केन्द्रीय समितिमा पुग्न खुला प्रतिस्पर्धा होइन, गुरिल्ला गौंडा रोजेका छन्। अर्थात् सुरक्षित हुने कोटा।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले महिला कोटा रोजेकी छन्। अहिले महिला कोटाको मतगणनामा पनि उनी प्रथम छैनन् तर निर्वाचित हुने सम्भावना छ। ९ जना महिला निर्वाचित हुने कोटामा शक्तिशाली महिलाका रुपमा रहेकी राणा सहभागी हुनुलाई राजनीतिको चरम दुरुपयोग भएको मानिन्छ।
‘उनी प्रथम महिला हुन्। त्यसै पनि शक्तिशाली छिन्। कतिपय विवादमा पनि तानिने महिला हुन्। उनले आरक्षण कोटा किन रोजेकी होलिन्?’, कतिपयको प्रश्न छ,‘यसरी कांग्रेसमा निर्धा र प्रतिनिधित्व गर्नुपर्ने महिलालाई अझ कमजोर बनाएको प्रतीत हुँदैन र?’
विषय आरजु राणाको मात्र नभई सांसद समेत रहेका अर्बपति विनोद चौधरीले पनि आरक्षण कोटा रोजेका छन्। उनी मधेसी कोटामा केन्द्रीय सदस्यमा महाधिवेशनमा लडेका छन्।
मोटिभेशन स्पिच समेत दिने चौधरीलाई आफू जित्न सक्ने निश्चित नभएपछि कोटामा पुगेको कतिपयको विश्लेषण छ। ‘खुल्ला कोटामा जति पनि लड्न सक्ने प्रावधानसँग चौधरी किन डराए भन्ने प्रश्न उठेको छ’, स्रोतले भन्यो।
मधेसी कोटाको भने गणना हुन बाँकी छ।