काठमाडौं । पार्टीको आन्तरिक चुनावमा आफु भन्दा कनिष्ठ नेतासँग पराजित भएपछि रक्षामन्त्री एवं कांग्रेस महामन्त्रीका उम्मेद्वार मीनेन्द्रप्रसाद रिजालले पदबाट राजिनामा दिएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर रक्षामन्त्री पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।
साथै उनले आफ्नो सक्रिय राजनीति यात्राा बारेमा पनि चाडै निर्णय लिने बताएका छन् । उनले सक्रिय राजनीतिमा रहने या नरहने भन्नेमा आफुले सोचिरहेको बताए । महामन्त्रीका लागि आफुले पाएको मतका कारण रक्षामन्त्रीमा रहिरहन नैतिकताले नदिएको भन्दै उनले राजिनामा गर्नुको प्रष्टिकरण दिए ।
रिजालले ८ सय ९ मत पाएका छन् । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुँदा उनले पाएको मत निकै कम हो । आफुले पाएको मतले कांग्रेस भित्र आफ्नो उपस्थितीमाथि प्रश्न गरेको भन्दै उनले जबरजस्ती पदमा बसी रहन आफ्नो नैतिकताले नदिने बताए ।
उनले भने, ‘एउटा साधारण सदस्यका रूपमा पार्टीले कस्तो खाले भूमिका दिन्छ त्यो गर्न तयार छु । म संसद् त छँदैछु, संसद्को कार्यकालभरी म सांसद भइहाल्छु । त्यसपछि थप सोच्नेछु । यसैगरी सम्मेलनमार्फत केही भनूँला । मेरो आशय तपाईंहरूले बुझ्नुभयो होला ।’
रिजालले भोलिका दिनमा राजनीतिमा नरहन सक्ने पनि बताए ।
त्यस्तै रिजालले आजै मोरङ्गका क्षेत्र नम्बर २ का नागरिकको स्वास्थ्य उपचारका लागि ५० लाख अनुदान दिएर पुण्यश्री प्रतिष्ठान सुरू गरिएको पनि जानकारी दिएका छन् ।
उनको राजिनामालाई लिएर सामाजिक संजालमा नैतिकता प्रदर्शन गरेको भन्दै उनको प्रशंसा गरिएको छ ।