शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

तीन सहमहामन्त्रीको मत परिणाम सार्वजनिक, भोलि बाँकी ५ सहमहामन्त्रीको नतिजा सार्वजनिक गरिने

शुक्रबार, पुष २ २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  तीन वटा क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना सकिएको छ ।

अब ५ वटा क्लस्टरको मत गन्न बाँकी छ ।

आज परिणाम सार्वजनिक गरिएका  क्लस्टरमा महिला, दलित र आदीवासी जनजाती रहेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार  महिला सहमहामन्त्रीको पदमा महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५ सय ३३ मत ल्याइन् । उपाध्यायले शेखर कोइरालाको प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गरेकी हुन् । पन्तले २ हजार १ सय ५ मत पाएकी छन् ।  

यस्तै आदिवासी जनजातितर्फबाट सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् ।  सभापति देउवाको प्यानलका उम्मेदवार आङ्दाम्बेले २ हजार ७ सय ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी कोइराला प्यानलका विकास लामाले १ हजार ९ सय ११ मत पाए । 

आजै मतपरिणाम सार्वजनिक गरिएको दलित तर्फको सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । कोइराला प्यानलबाट उम्मेद्वार बनेका परियारले २ हजार २ सय १२ मत ल्याए भने उनका निकटमत प्रतिद्वन्दी देउवा प्यानलका मानवहादुर विश्वकर्माले २ हजार १ सय ७५ मत पाए । 

कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये आज महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको हो ।

बाँकी मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस र आर्यको भोलि शुक्रवार मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।