शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेस महाधिवेशनकालागि केहि घण्टामात्रै बाकी तर खै भावी नेतृत्वको अनुहार ?

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुुरु हुन केही घन्टामात्रै बाँकी छ।  महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता भोलि बिहानबाट सुरु हुने कार्यतालिका छ ।

उम्मेद्वार मनोनय गर्न २४ घण्टा पनि बाँकी नरहदा अहिले सम्म  कांग्रेसको भावी नेतृत्व कसले गर्ने भन्ने टुंगो चाँही अझै लाग्न सकेको छैन । कांग्रेसमा संस्थापन र संस्थापनइतर गरी दुईवटा गुट बढी क्रियाशील छन् ।

तर दुइटै गुटबाट नयाँ नेतृत्वसहितका पदाधिकारीहरुको सूची सार्वजनिक हुन सकेको छैन । संस्थापन पक्षले वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सभापतिको उम्मेदवार बनाउने लगभग पक्का गरे पनि अन्य पदाधिकारीहरु टुंग्याउन सकेको छैन ।  

देउवाले संस्थापनइतरलाई पनि समेटेर जाने इच्छा व्यक्त गरे पनि संस्थापनभित्रै कुरा मिल्न सकेको छैन । संस्थापनभित्रै पदाधिकारीहरुका आकांक्षी बढी देखिएपछि देउवा प्यानलले उम्मेद्वारी खडा गर्न नसकेको हो । 

संस्थापनइतरमा भने वर्तमान महामन्त्री शशांक कोइराला सभापतिको  दौडबाट पछि हटे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति एवं पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा अझै दाबी छाडेका छैनन्। जसले गर्दा पौडेल समूहले आफ्नो साझा उम्मेद्वार बनाउन सकेको छैन ।

पौडेल समूहबाट सभापतिको उम्मेदवारमा वरिष्ठ नेता पौडेललाई छाडिदिन शेखरलाई दबाब दिइए पनि उनी टसको मस छैनन्।

कांग्रेसमा गणेशमान सिंहको विरासत बोक्दै आएका प्रकाशमानले भने अरु पदमा सम्झौता गरे पनि सभापति पदबाट आफू पछि नहट्ने अडान लिँदै आएपछि पौडेल पछिल्लो समय बैठकमै आउन छाडेका छन् ।