शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पौडेल समूहलाई साझा उम्मेद्वार तोक्नै सकस, महाधिवशेन प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु

मंगलबार, मंसिर २१ २०७८

काठमाडौं । महाधिवेशनको दिन नजिकिदै गर्दा पनि उम्मेद्वारी चयन गर्न नसकेको कांग्रेसको संस्थापन इतरको बैठक आज पनि बस्दैछ ।

सभापतिका लागि आकांक्षी धेरै भएपछि संस्थापन इतर समूहले आफ्नो तर्फबाट सभापतिका लागि साझा उम्मेद्वार चयन गर्ने बताउदै आएको छ ।

उम्मेद्वारी मनोनयनका लागि चार दिन मात्रै बाकी रहदा संस्थापन इतर समूह पछिल्लो समय उम्मेद्वारी छान्न नियमितजसो बठकमा ब्यस्त हुन थालेको छ ।

संस्थापन पक्षमा भने सभापतिमा शेरवहादुर देउवा नै दोहरिने निश्चित छ ।  संस्थापनमा सभापति  देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा उनले पनि  क–कसलाई समेट्ने भन्ने टुङ्गो लगाउन सकेका छैनन् । 

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन थालेका छन् । प्रदेश र स्थानीय तहमा सिटौलासँगको समिकरणमा देउवाले सफलता प्राप्त गर्दै आएका छन् । 

 संस्थापन इतरबाट सभापतिकै उम्मेदवार बनाउन लगातारका बैठक असफल भएपछि आज फेरि बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्न लागेको हो । 
हिजो पौडेलसहित महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । तर, सहमति नभए पछि आज फेरि बैठक बस्न लागेको हो। दिउँसो १ बजे बस्ने बैठकले साझा उम्मेदवार तोक्ने नेताहरुको दाबी छ । 

कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाण्डौ आउने क्रम सुरु भएको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आउँदो शुक्रवारदेखि आइतवारसम्म काठमाण्डौमा हुँदैछ ।