शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राप्रपा अध्यक्षमा कमल थापा पराजित हुनुका मुख्य ३ कारण

आइतबार, मंसिर १९ २०७८

काठमाडौं। लामो समयदेखि नेतृत्वमा एकाधिकार जमाउँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन्।

पार्टी विभाजन र एकीकरणका विविध चरण पार गर्दा पनि अध्यक्षमा एकाधिकार जमाउँदै आएका थापाले आफूलाई निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले पराजित गरेको आरोप लगाएका छन्।

तर देशभरबाट आएका प्रतिनिधिले विवेकपूर्ण हिसाबले नेतृत्व परिवर्तनका निम्ति चाहना राख्दा थापाको पराजय भयो। तर, उनी पक्षधरका नेताहरु केन्द्रीय समितिमा ठूलो संख्यामा आउँदा प्रतिनिधिले मूल नेतृत्वमा पुस्तान्तरण चाहेको स्पष्ट भएको छ।

आखिर थापा किन पराजित भए? तीन मुख्य कारण यस्ता छन्।

अवसरवादी चरित्रः सत्ता र शक्तिमा रहनका लागि थापाले जहिले पनि अवसरवादी चरित्रलाई कायम राख्नका लागि पार्टी विभाजन र जनमतको दुरुपयोग गरेका थिए। उनले सत्ता र शक्तिमा रहनका लागि राप्रपा विभाजन गरी राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको लाभ उठाए। हिन्दूत्व र राजसंस्थावादी भनिए पनि उनले त्यसको बचाऊका निम्ति प्रभावकारी उपस्थिति जनाउन सकेनन्।

गणतन्त्र नेपालमा हिन्दूत्व चाहनेले दोस्रो संविधानसभाको चुनावमा ठूलो शक्तिका रुपमा स्थापित गरे पनि तत्कालिन केपी शर्मा ओलीको सरकारमा सहभागी भएर भूमिकाको दुरुपयोग गरे जसको चर्को आलोचना भएको थियो।

विभाजन र एकाधिकारः प्रतिनिधि सभामा तेस्रो शक्तिको रुपमा रहेको राप्रपाको गिर्दो भविष्य बनाउने काम थापाले गरेका थिए। नेतृत्वमा एकाधिकार जमाउन र अध्यक्ष बन्नका लागि उनले पार्टी विभाजनको खेलमा सँधै सक्रियता देखाए जसको जवाफ एकता महाधिवेशनमा प्रतिनिधिले दिएका हुन्। अध्यक्षमा निर्वाचित लिङ्देनलाई तिनै प्रतिनिधिले साथ दिए जसले विभाजन रुचाएका थिएनन्।

गणतान्त्रिक संविधानको स्वीकार्यताः सत्ता प्राप्तिका निम्ति थापाले गणतन्त्र नेपालको संविधान स्वीकार गरेका थिए। दोस्रो संविधानसभाले संविधान जारी गर्दा उनले नोट अफ डिसेन्ट सम्म नलेख्नु पनि कारण रहेको बताइएको छ। संविधानमा साथ दिएपछि उनी पछि एमाले नेतृत्वको ओली सरकारमा सहभागी भएका थिए।