शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

आइतबार, मंसिर १९ २०७८

काठमाडौं l ताप्लेजुङ, कञ्चनपुर, पाल्पा, महोत्तरी, पर्वत, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । 

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ बोखिमस्थित सडकमा ओरक्पाबाट कुन्जरीतर्फ जाँदै गरेको मे.१ त ६८९३ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त लिम्बु र १५ वर्षीय समिर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बसन्तको धरान घोपा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनाको धरान घोपामा उपचार भइरहेको छ । 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जस्थित सडकमा से.१ त ३८४१  नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कृष्णपुर नगरपालिका–९ बस्ने ६५ वर्षीया द्रोपती राना सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३ जनाको निर्सग अस्पताल धनगढी र ३ जनाको केजी अस्पताल धनगढीमा उपचार भइरहेको छ भने ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन । 

पाल्पाको तानसेन नगरपालिका–९ दमकडास्थित सडकमा लु.४ त ५४३८ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ट्याक्टरका साहु सोही ठाउँ बस्ने ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको  लुम्बिनी मेडीकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरका सह–चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित सडकमा प्र.२–०२–००१ प ३८५८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा वैदेही नगरपालिका–८ बस्ने २० वर्षीय बलिराम साहको घटनास्थलमै मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ परादीस्थित सडकमा काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको ग.२ ख ००९८ नम्बरको बसले ग. २ त ६४२७ नम्बरको ट्याक्टरलाई शनिबार बिहान ठक्कर दिंदा ट्याक्टरमा सवार उदयपुर चौदण्डीगढी नगरपालिका–२ बस्ने १८ वर्षीय बिशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १८ जनालाई जिल्ला अस्पताल र ५ जनालाई गण्डकी अस्पताल पोखरातर्फ उपचारको लागि पठाइएको छ । दुबै चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पर्साको पटेर्वासुगौली गाउँपालिका–२ स्थित सडकमा ना.५ त ४१०८ नम्बरको ट्याक्टरको चक्का बिग्रीन गई जग लगाई तान्ने क्रममा जग फुत्किँदा ट्याक्टरको धुराले च्यापिएर ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय साविर खान पौठानको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित सडकमा को.१ ख ४९८८ नम्बरको बसले को.१ ख ६३७५ नम्बरको ट्रकलाई शनिबार दिउँसो ठक्कर दिई बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार हाल नाम,थर, वतन नखुलेका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २२ जनाको सोही अस्पतालामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको  छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।