काठमाडौं। उनी सरल छन्। नेतृत्व कसरी लिने र सबल हुने भन्ने विषयका अनुभवी पनि छन्। नेपालको उद्यमी घरानाका अर्को पुस्तामा जन्मिएका करण चौधरी सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन्।
नेपालको अटोमोबाइल्स एशोसिएशन (नाडा)को उपाध्यक्षका रुपमा अनुभव बटुलेका चौधरी स्वतः अध्यक्षका दाबेदार हुन्। उनले उम्मेदवारी घोषणा गरिसकेका छन्।
अध्यक्षमा उनको दाबेदारी किन? स्वभाविक उत्तर छ– स्वभाविक उम्मेदवारको दाबेदार हुन्छ, उपाध्यक्ष।
तर चौधरीमा त्यति मात्र गुण छैन। उनमा रहेको संगठनको हाँक गर्न सक्ने अनुभवले पनि काम गरेको छ। जसरी बाबु अरुण चौधरीले दिएको जिम्मेवारीलाई उनले बलियो र सीपालु ढंगले पूरा गरिरहेका छन्, नाडाको नेतृत्व काललाई सोही शिल्पमा अगाडि बढाउने दक्षता राख्छन्।

उनी युवा पुस्ताको व्यावसायीक उडान भर्ने र भराउन सक्ने प्रतिनिधि हुन्। अझ अघि बढेर भन्दा उनी एउटा उदाहरणीय कुशल नेतृत्वकर्ता हुन्।
‘उपाध्यक्ष भएकाले अध्यक्षमा दाबेदारी गर्नु नौलो कुरा होइन तर मेरो उम्मेदावारी संगठनलाई अझ दर्बिलो बनाउने, हिँडाउने कामका लागि पनि हो’, उनी भन्छन्।
अध्यक्षको मैदानमा अरु को छन् भन्ने भन्दा पनि आफू किन छु भन्ने प्रश्नको जायज उत्तर कामले देखाउने उनको चाहना छ।
उनी भन्छन्,‘प्रतिस्पर्धा त आफैंसँग पनि गर्दै आएको छु। मैदानमा हुने सबैप्रति सम्मान छ। तर यो संस्थानको उन्नयनमा मेरो योगदान सीमाहिन बनाउने मन छ।’
चौधरी समूहको छोरा पुस्तामा सबलताका साथ अघि बढेका उनी नेपालमा गाडीको डिमान्डका कुरामा मात्र केन्द्रित रहनेवाला छैनन्, संस्थामा आवद्ध रहेकाहरूको राज्यसँगको सुविधा मागका विषयमा पनि अर्जुनदृष्टि लगाउने रफ्तारमा छन्।
चौधरीको अध्यक्षमा प्रतिस्पर्धा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापासँग हुँदैछ। अध्यक्षका प्रत्यासी चौधरी र थापा दुवैले एक्लै होइन प्यानल नै बनाएर चुनावी मैदानमा उत्रने भएका छन्।
उनले यसअघि नै सहमतिका आधारमा नेतृत्व त्याग गरेका थिए। त्यो सहमतिले पनि उनलाई अध्यक्षमा निर्वाचित गराउनका निम्ति आह्वान गर्छ, निर्विकल्प।