शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

 मौद्रिक नीतिको प्रभावले सेयरबजारको ओरालो यात्रा, के होला अबको बजार ?

सोमबार, मंसिर १३ २०७८

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर कर्जामा कुनैपनि प्रावधान परिवर्तन नगरेपछि त्यसको सिधा असर सेयरबजारमा परेको छ । तरलता अभाव सहज नहुने र यसमा कर्जा पनि नबढ्ने संकेत देखेपछि आइतबारको बजारमा लगानीकर्ताहरु बिक्री गर्न लामबद्ध भएका थिए ।

यसरी बेच्न खोज्नेहरु बढेपछि आइतबार  बजारले ओरालो यात्रा  समातेको छ । तत्काल हेर्दा बजारलाई सपोर्ट गर्ने कुनैपनि आधारहरु देखिदैनन् । जसका कारण केहि समय बजार अझै तल  झर्न सक्ने देखिन्छ ।

सेयर बिश्लेषक बिष्णु बस्याल भन्छन् ‘ केहि दिन बजार अझै तल झर्न सक्छ तर यो लामो समय रहदैन, बजार छिट्टै फर्कने देखेको छु । ’

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षा गर्दा लगानीकर्ताले निकै प्रतिक्षा गरेको ४÷१२ करोडको नीति संशोधन नहुँदा सेयर बजारमा भारी गिरावट हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । धेरैले यसमा संसोधन हुने आशा गरेका थिए । तर, राष्ट्र बैंकले तत्कालका लागि यो आवश्यक नरहेको तर्क अघि सारेको छ ।

लगानीकर्ताले यो व्यवस्था संंशोधन गर्न गभर्नरका साथै अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेको थिए, तर राष्ट्र बैंकले यसमा तत्काल आवश्यक नरहेको भन्दै व्यवस्था यथावत राखेका छ।

आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा पुगेको छ। । २ सय ३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको सेयर किनबेच भएको छ ।

 क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.१९ अंकले घटेर ५ सय १ दशमलव ४५ बिन्दुमा रोकिएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३४.९७, विकास बैंक २ सय ६७.०९, जलविद्युत १ सय ३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बीमा ३ सय ८५.९४, माइक्रोफाइनान्स १ सय ३९.४ र जीवन बीमा समूहको उपसूचक ५ सय ३८.०३ अंकले घटेको छ ।