काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताएका छन् ।
एमालेको दशौँ महाधिवेशनमा सहभागी हुन चितवन पुगेका अध्यक्ष थापाले शुभकामना दिँदै अध्यक्ष ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताए ।
उनले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताए । ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी थियो ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमाले पहिलेभन्दा थप बलियो बनोस् भन्ने शुभकामना दिएका छन् । शुभकामना दिँदै ठाकुरले एमाले आकाश जस्तै उचाइमा पुगोस् भनेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता रामबहादुर थापा बादलले देशी विदेशी तत्त्वले नेकपालाई तीन टुक्रामा पारेको आरोप लगाएका छन्। चितवनमा सुरु भएको एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उनले देशी, विदेशी तत्त्वले देशलाई फेरि अशान्तिमा धकेल्ने काम गरेको टिप्पणी गरे ।
सबै दलका प्रमुखहरुलाई आमन्त्रण गरिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी एमालेका सचिव प्रदीप ज्ञवालीले सहभागीहरुलाई गराएका छन् ।
कार्यव्यस्तताले अध्यक्ष दाहाल आउन नसकेपछि माओवादीका तर्फबाट कार्यक्रममा सहभागी हुन आफू आएको जानकारी नेता लीलामणि पोखरेलले दिए।