काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी मागेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदा नेतृत्वको हिसाबले आफूबाट गल्ती भएको बताएका हुन् ।
पछिल्लो समय विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र पाण्डे समूहबीच वैचारिक मतभेद छ । मिश्र समूहले संयोजक पाण्डेको अधिकार खोसेर भूमिकाविहीन बनाएको छ । मिश्र समूह सङ्घीयता र धर्म निरपेक्षता खारेजीको पक्षमा उभिएपछि उनले भने, ‘आज दुःखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नु परेको छ।’
साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएका १३ जनासँग पाण्डेले माफी समेत मागेका छन् । ‘आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो। तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईहरू १३ जनासँग माफी माग्छु ।’
साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएकाहरुले नयाँ दल दर्ता गरेपछि बधाइ दिँदै विवेकशील आन्दोलनलाई न्याय गर्नेमा विश्वास व्यक्त गरे । वैकल्पिक राजनीतिको अभियान र साङ्गठनिक रूपमा पनि छिट्टै भेट हुने पाण्डेले बताए । ‘छिट्टै अभियानमा भेट हुने नै छ । साङ्गठनिक रूपमा पनि छिट्टै नै हामी संगै नै हुनेछौं । फेरि पनि, तपाईहरूलाई शुभकामना छ । उज्वल दाइले र हामी सबैले देखेको सपना मर्ने छैन । हामी सबै मिलेर हाम्रो त्यो सामूहिक सपना साकार गर्नेछौं’, उनले भने ।
https://www.facebook.com/milanpandey22/posts/10208500871275639