काठमाडौं । १०औं महाधिवेशनको संघारमा रहेको नेकपा एमालेभित्र अध्यक्षमा केपी शर्मा ओली सर्वसम्मत हुने लगभग निश्चित छ। कोही उनका प्रतिस्पर्धी भए पनि भारी मतले ओली नै अध्यक्षमा आउनेमा प्रायः शंका गरिएको छैन।
तर, बरिष्ठ उपाध्यक्षदेखिका अन्य पदमा भने प्रतिस्पर्धा रोचक हुन सक्ने अड्कल काटिएको छ। बरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र माओवादी छाडेर आएका रामबहादुर थापा बादलको प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।
अन्य पदमा भन्दा पनि महासचिव पदको प्रतिस्पर्धा भारी र रोचक हुने देखिएको छ। उक्त पदका लागि ओलीका खास मानिएका दुई उत्तराधिकारीहरू विष्णु पौडेल र शंकर पोखरेलको भिडन्त निश्चित भएको छ।
‘दुवै जना ओलीका खास नेता र एमालेका भावी नेतृत्वका रुपमा हेरिएको छ। त्यसैले महासचिव पदमा यो भिडन्त रोचक हुने देखिन्छ’, एक नेता भन्छन्,‘यसले ओलीले कसलाई स्थापित गराउन खोजेका छन् भन्ने कुरालाई पनि स्पष्ट पार्नेछ।’
पौडेल र पोखरेलले महासचिव पदका निम्ति प्रचार पनि थालिसकेका छन्। हाल पौडेल संगठन विभाग प्रमुखसँगै उपमहासचिव हुन् भने पोखरेल सचिव हुन्। उनी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।