काठमाडौँ l नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन् ।
सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसले कसैसँग तालमेल गर्न जरूरत छैन । आफूनै बलबुतामा लड्नुपर्छ ।’
गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने बताएका हुन् ।
नेता प्रकाशमान सिंहले सरकारलाई सहयोग गर्नका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक समन्वय समिति’ प्रति आपति जनाएका छन् ।
उनले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन् । सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र औचित्य नरहेको दाबी गरे । ‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ । यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने, ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छैन ।’
उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो । ‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन’, उनले भने ।
सर्वोच्चको विवाद हटाउन सरकार अग्रसर हुनुपर्छ
सिंहले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । ‘न्यायलयमा देखिएका समस्या त्यहींभित्रबाट समाधान होस् भनेर मात्र हुँदैन । सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनुहुन्न ।’
‘न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको छ । कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुख पाइरहेका छन् ।’ उनले भने ‘संविधानको भावना र मर्म अनुसार विधिसम्वत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ । अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’