शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी दुर्घटनामा ५ जनाको मृत्यु 

सोमबार, कार्तिक २२ २०७८

काठमाडौँ l जाजरकोटको छेडागाड नगरपालिका–१ ध्याप टाकुरास्थित सडकमा बा.०५ ख २५०१ नम्बरको मिनी ट्रक सडकबाट करिब २ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका चालक समेत अन्य ७ जनालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट, ईलाका प्रहरी कार्यालय बडावन, ईलाका प्रहरी कार्यालय दशेरा र प्रहरी चौकी छेडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उद्धार गरी उपचारको लागि सुर्खेततर्फ पठाएको छ । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयास्थित सडकमा ज.८ प ७०७२ नम्बरको मोटरसाइकललाई प्रदेश २–०२–००४ प ९०२८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्नेक्रममा शुक्रबार बिहान दुर्घटना हुँदा प्रदेश २–०२–००४ प ९०२८ नम्बरको मोटरसाइकल चालक महोत्तरी भमरपुरा नगरपालिका–९ बस्ने २४ वर्षीय जितेन्द्र कुमार राय यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज.८ प ७०७२ नम्बरको  मोटरसाइकल चालक धनुषा गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ३१ वर्षीय कृष्ण कुमार साह, मोटरसाइकलमा सवार उनकै श्रीमती २३ वर्षीया कुसुम कुमारी साह र छोरा २ वर्षीय रिहान कुमार साहको सोही अस्पतालमा उपचार भइरहेको छ । 

काभ्रेको पाँचखाल नगरपालिका–६ तिनपिप्लेस्थित सडकमा बा.३ ख ९६८१ नम्बरको बसले बागमती प्रदेश ०२–०२२ प ९८४५ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने २२ वर्षीय राम थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।