शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ l काठमाडौं, सिरहा, नवलपरासी(पूर्व), झापा र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।  

काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सडकमा बा.४ ख ८७२५ नम्बरको टिपरले बा.२–०३० प ९४० नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा घर भएका २५ वर्षीय सुनिल प्रसाद महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार भक्तपुर टिकाथली बस्ने रामेछाप दोरम्बा गाउँपालिका–२ घर भएका ३० वर्षीय अम्बर बहादुर पहरीको सोही अस्पतालामा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–२ स्थित सडकमा पीबी ०४ भी ४६३९ भारतीय नम्बरको ट्रकले प्रदेश ३–०३–००१ प ६८७९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २५ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको लहान नगरपालिका–३ स्थित सडकमा ना.८ ख १००२ नम्बरको कन्टेनरले प्र.१–०२–०४५ प ५९९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि राउ स्मारक सरकारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको गौरादह नगरपालिका–१ किरात चोकमा मे.१ त ७६८७ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार झापा कन्काई नगरपालिका–६ मनता बस्ने ४५ वर्षीय गंगा बहादुर तामाङको बुधबार राति मृत्यु भएको छ । उक्त ट्याक्टरबाट लडेर सोही ट्रयाक्टरले किच्दा गम्भीर घाइते भएका उनको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको बिराटनगर महानरगपालिका–३ स्थित सडकमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मोरङ बिराटमगर महानगरपालिका–३ बस्ने ६० वर्षीय रमेश कुमार पाण्डेको मृत्यु भएको छ । उक्त स्थानमा प्रदेश २– ०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश ३–०२–२३ च २८५१ नम्बरको कारलाई ठक्कर दिँदा कार अनियन्त्रित भई ४ जना पैदलयात्रीहरुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पदैलयात्री रमेशको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३ जना पदैलयात्रीलाई उपचारको लागि नोबेल अस्पताल पठाइएको छ । कार र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।