काठमाडौं । प्रतिबन्धित लागुऔषधका साथ सिरहा प्रहरीले वडाअध्यक्षसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित सिरहा नगरपालिका–१८ का वडाध्यक्ष रामसोगारथ यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका वडाध्यक्ष यादवको साथबाट नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
वडाध्यक्ष यादव स १ ब ९३८ सरकारी नम्बर प्लेटको मोटरसाइकलमा भारतबाट फर्किदै गर्दा माडर चोकमा जाँचका क्रममा लागुऔषधसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका वडाध्यक्ष यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले सिरहा नगरपालिका–१८ इटारीबाट लागुऔषधसहित अर्नमा गाउँपालिका–३ का २३ वर्षीय पप्पु दासलाई पक्राउ गरेको छ । दासको साथबाट १०० थान डाइजिपाम र १०० थान नोर्फिन इन्जेक्सन बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित मिर्चैया नगरपालिका–६ का २३ वर्षीय राजाराम पासवान र मिर्चैया नगरपालिका–४ का ४० वर्षीय विनोद साह पक्राउ परेका छन् ।