काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा दुईथरी दबाबमा परेका छन्। नेपाली कांग्रेसका नेताले महाधिवेशन धकेल्ने भए अर्ली इलेक्सनमा जानका लागि देउवालाई दबाब दिएका छन्।
अहिलेको प्रतिनिधि सभाले काम गर्न नसकेको भन्दै चुनावको विकल्प नै नभएको बताइएको छ। हालै मात्र नेता प्रकाशमान सिंहले चाँडो चुनाव गर्दा उपयुक्त हुने बताएका थिए।
यसैगरी बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चाँडो चुनाव गरी नयाँ जनादेशका साथ कांग्रेसले सरकार चलाउनुपर्ने बताएका छन्। उनले स्थानीय र प्रदेशको अगाडि नै प्रतिनिधि सभाको चुनाव गर्नु उपयुक्त हुने बताएका छन्।
उता सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने तीनवटै चुनाव एकसाथ गर्ने व्यवस्था गर्दै प्रतिनिधि सभाको म्याद थप्ने प्रस्तावमा अडिएका छन्। उनले प्रधानमन्त्री देउवालाई उक्त प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ।
देउवा भने दुवै प्रस्तावमा सकारात्मक रही तीनवटै चुनाव एकसाथ गर्ने तर आगामी फागुनमा नै उक्त काम गर्न सकिने विषयमा परामर्शमा रहेको बताइएको छ।
बालुवाटर स्रोतले भन्यो,‘चाँडो चुनावमा जानुपर्ने विषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, फागुनमा नै गर्न सक्ने सम्भावना रहेको छ।’