काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाल फेरि पनि भरतपुर महानगरपालिकाको मेयरमा उठे पराजित हुने निश्चित भएको छ।
अघिल्लो स्थानीय तहको चुनावका क्रममा नेपाली कांग्रेसको सहयोगमा मतपत्र च्यात्दै मुद्दामामिला गरी मेयरमा जित निकालेकी रेणुका लागि प्रचण्डले पनि अबको चुनावमा केही गर्न सक्ने अवस्था नरहेको स्पष्ट भएको छ।
कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अबको चुनावमा केन्द्रमा तालमेल भए पनि जिल्ला र नगरमा सत्ता गठबन्धनमा सहकार्य हुन नसक्ने र त्यस्तो निर्देशन आए विद्रोह हुने चेतावनी दिएपछि रेणु त फेरि मेयर नबन्ने निश्चितमात्र भएको छैन, प्रचण्डकै प्रतिनिधि सभा सदस्य बन्ने सपनामा पनि धक्का लाग्ने भएको छ।
‘कांग्रेसले कुनै पनि हालतमा अर्को चुनाव चिन्हमा मत हाल्दैन, त्यस्तो निर्णय भएको खण्डमा जिललबाट विद्रोह हुनेछ’, श्रेष्ठले भने,‘हामी रुख भन्दा अर्को चुनाव चिन्ह चिन्दैनौं।’
भरतपुरमा फेरि कांग्रेसलाई दिने सहमति भए पनि माओवादीलाई साथ दिन नसकिने स्थानीय नेताले घोषणा गरेका छन्। कांग्रेस चुनावी मैदानमा एक्लै उत्रिन बाध्य पारिने बताइएको छ।
गठबन्धन घटकको प्रमुख कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिने भएपछि प्रचण्डको योजनामा तुसारापात हुने भएको छ। उनले आगामी चुनावमा गठबन्धनकै शैलीमा तल्ला तहसम्म उत्रिने चितवन पुगेर बताएका थिए।
‘हाम्रो विचारमा पनि विपरित र कार्यशैलीमा पनि फरक रहेको कम्युनिस्टलाई त भोट जाँदैन, यहाँको प्रमुख प्रतिस्पर्धी भनेको एमाले हो, हामी एक्लै चुनाव लड्नेछौं’, स्थानीय नेता भन्छन्।
कांग्रेसले साथ नदिएको खण्डमा प्रचण्डलाई पनि राजनीतिक विरासत जोगाउन मुस्किल पर्नेछ। चितवन–३ मा प्रचण्डका प्रमुख प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डे हुन्। प्रचण्डलाई पराजित गर्नका लागि नै एमालेले पाण्डेलाई सहयोग गर्ने रणनीति तय गरिसकेको छ।