काठमाडौँ l चितवन, ईलाम, सुनसरी, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोकमा प्रदेश नम्बर २–०३–००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलामको माइजोगमाई गाउँपालिका–२ घारेगाउँस्थित सडकमा को.१ त ६८९० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–५ सोयाङ बस्ने ५० वर्षीया मनमाया राईको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरीको कोशी गाउँपालिका–३ स्थित सडकमा प्र.३–०१–०२४ च ४२६७ नम्बरको गाडीले को.५ प ७९१६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रमधुनी नगरपालिका–१ सैनिमैनी बस्ने २४ वर्षीय विशाल चौधरीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय रोहित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा शान्ति चोकमा ग.३ च ४९२२ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने म्याग्दी घर भएका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१० गणेशमान चोकमा बा.१४ च १३८७ नम्बरको गाडीले भे.८ प ७८०४ नम्बरको मोटरसाइकल र एक साईकललाई आइतबार राति ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अर्जमान ईद्रिसीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक र साईकल चालकको सोही नर्सिङहोमना उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।