शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्रबैंकद्वारा ११ अर्ब भन्दा बढीको ट्रेजरी बिल जारी हुदै, बोलकबोल दिउँसो तीनबजेबाट खुल्ला हुने

सोमबार, कार्तिक १ २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले  ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ ।  बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत आजदेखि ट्रेजरी बिल  बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको  २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको  ६ अर्ब गरी जम्मा  ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकद्वारा जारी  सूचनामा उल्लेख छ ।

९१ दिन अवधिको ट्रेजरी बिल आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने बिल आगामी वैशाख ६ गते र ३६४ दिने बिल अर्को सालको कात्तिक १ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले गत असोज २५ गते  १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । 

ट्रेजरी बिलको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई  बैंकले भोलि ट्रेजरी बिल जारी गर्नेछ । 

के हो ट्रेजरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ । अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दै आएको छ ।

२८ दिने ट्रेजरी  बिल त्यति प्रचलनमा आएको देखिँदैन ।