काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा बंगलादेश पराजित भएको छ । गएराति ओमानको अल अमिरात मैदानमा भएको पहिलो चरणको खेलमा बंगलादेशलाई स्कटल्याण्डले ६ रनले हराएको हो ।
स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । विश्वकपको पहिलो चरण अन्तर्गत ओमानले विजयी सुरुआत गरेको छ ।
हिजो भएको उद्घाटन खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको हो । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । पहिलो चरणमा खेल्नेमध्ये आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह बी मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुईदुई टोली अन्तिम १२ मा पुग्नेछन् ।
अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछन् ।