शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

२ वर्षीय दिव्यंशले पोहोर बुवालाई दागबत्ती, यसपालि आमालाई

आइतबार, असोज २४ २०७८

सप्तरी । सप्तरी राजविराज–२ का २ वर्षीय दिव्यंश साफीले काकाको काखमा बसेर बुवाको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । गएको सोमबार घरमा बुवा राजन साफीको वार्षिक श्राद्ध चलिरहेको थियो । आमा रुबी साफीको अचानक शंकास्पद मृत्यु भयो । ३ वर्षीय दिव्यंशले उही घाटमा पुगेर हजुरबुवाको काखमा बसी आमालाई पनि बिदा गरे ।

यस्तो कारुणिक दुखान्त अरू कसैलाई नहोस्

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोसी नदी किनारमा सोमबार मध्यरात चकमन्न अन्धकार छ । हजुरबुवाको काखमा लुपुक्क परेर बसेका दिव्यंश मलामीहरूको गतिविधि नियालिरहेका छन् ।

शास्त्रअनुसार १६ संस्कारमध्ये अन्तिम संस्कारको तयारी भइरहेको छ । श्मशान घाटमा दाउराको चाङ लगाएर मलामीहरूले चिता बनाए । परिवारका सदस्यबाट चिता बनाउने जमिन किन्ने काम भयो । परिवारका सदस्यहरूले अर्थीबाट डोरी फुकाएर शवलाई चितामा सुताए । खरले छोपेर शवका कपडाहरू हटाइयो । मृतकका एक आफन्तले पाँच वटा कौडी र दाम राखे। मृतकलाई स्वर्गमा समेत शीतलता प्राप्त होस् भनेर मुखमा चन्दनको टुक्रा राखियो ।

दिव्यंशलाई यो सबै के भइरहेको छ भन्ने थाहा छैन । एक वर्षकै अवधिमा बुवा र आमाको निधनपछि टुहुरो भएका उनी घुरेर हेरिरहेका छन् । परिवारका सदस्य र मावली घरका आफन्तहरूले उनलाई सहारा दिने प्रयास गरिरहेका छन् । दिव्यंश भने आमाको साथ खोजिरहेका छन् । ‘ममी उठनुस् न..’ भनेर उठाउने असफल प्रयास गरिरहेका छन् ।

राजविराज–२ स्थित घरमा ७ वर्षीया छोरी दीक्षा आमालाई कहाँ लगेको भनेर खोजिरहेकी छिन् । यता श्मशान घाटमा ३ वर्षीय दिव्यंश आमालाई उठाउन खोज्दै छन् । चिता जलाउनु अघि नै अबोध बालकको निर्दोषपन हेरेर मलामी जानेहरूको मन भतभती पोलेको हनुमाननगर कंकालिनी नगरपालिका–७ का सदानन्द रजकले बताए ।

चिताको तयारीपछि सेतो कपडा बेरेका साजनले भतिजा दिव्यंशलाई बोके। दुलो पारिएको माटोको घडामा जल लिएर चितामा राखिएको पार्थिव शरीरको परिक्रमा गरे । कोसी नदी किनारमा चलिरहेको चिसो हावामा काम्दै तीन वर्ष टेकेका दिव्यंशले आमाको मुखमा दागबत्ती दिए । घिउ, खर, धुपीको साथ पाएर आगो हुरहुरी सल्कन थाल्यो । दिव्यंश भने ‘ममी, ममी’ भनेर रुन थाले ।

कोभिड–१९ को कहरबीच नियमित फार्मेसी सञ्चालनमा खटिएका राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका फार्मेसी सहायक २८ वर्षीय राजन साफीको गत वर्ष कात्तिक १९ गते कोभिडका कारण मृत्यु भएको थियो । सोमबार उनको वार्षिक तिथिका दिन श्राद्धको कर्मका लागि घरमा तयारी भइरहेका बेला झुण्डिएको अवस्थामा राजनकी श्रीमती २४ वर्षीया रुबी समेत मृत फेला परिन् ।
राजनको वार्षिक श्राद्धका लागि आफन्त, पाहुनाहरू काठमाडौं, विराटनगर, धरानबाट आइपुगेका थिए । पाहुनाहरू रुँदै रुबीको मलामी बने ।

‘उतिबेला बुवालाई मुखाग्नि दिएर आएको रातैभरि दिव्यंश र दीक्षाले बुवा खोजे । निद्राबाट ब्युँझिँदा पनि बुवा बोलाए’ हजुरबुवा राजकुमार साफीले भने, ‘बुवाको अभाव खटकिँदा आमाले अंगालोमा छोप्थिन र सम्झाउँथिन, अब सम्झाउने आमाले पनि सधैंका लागि छाडेर गइन् ।’

कालगतिले नभई रुबीले ‘आत्महत्या’ गरेकाले थप पीडामा परेको राजकुमारले बताए । उनका अनुसार सानैमा बुवाआमा गुमाएपछि लालाबाला समस्यामा परेका छन् । मृतकका माइती पक्ष भने घरपरिवारकै दुरुत्साहनका कारण रुबीले ‘आत्महत्या’ गर्न बाध्य भएको दाबी गर्छन् । घरेलु हिंसा, शारीरिक र मानसिक यातनाकै कारण पटक–पटक प्रताडित छोरीको मृत्युले विक्षिप्त बनेका रुबीका बुवा सप्तकोसी नगरपालिका–८ का ५७ वर्षीय रामकृष्ण साफी नातिनी दीक्षा र नाति दिव्यंशको जीवन समेत जोखिममा रहेको बताउँछन् ।

साथीहरूका अनुसार राजन जीवित छँदै परिवारमा घरायसी विवाद थियो । घरायसी विवादका कारण राजन र रुबी दुई छोराछोरीसहित राजविराजमै डेरा गरी अलग्गै बस्दै आएका थिए । कान्छा छोरा साजन भने काठमाडौंमा निजी कम्पनीमा कार्यरत छन् । बुवा राजकुमार धोबीको काम गर्छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको नियमित फार्मेसी सञ्चालनमा दिनरात खटेकै कारण गत वर्ष २८ वर्षीय राजन कोभिड–१९ बाट संक्रमित भए । नियमित फार्मेसी सञ्चालनमा खटिएका फार्मेसी सहायक राजनको उपचारका क्रममा मृत्युपछि अस्पतालले उनकी श्रीमती रुबीलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गर्‍यो । सरकारबाट क्षतिपूर्तिबापत प्राप्त २५ लाख रुपैयाँसमेत रुबीले पाउने भइन् । तर, सासू मोहिनी साफीले विवाद गरेपछि उक्त रकम नाबालक छोराछोरीका नाममा राखिएको र संरक्षकमा आमा रुबीको नाम राखिएको अस्पतालले जनाएको छ ।

रुबीकी सासू मोहिनीले संरक्षकमा आफ्नो नाम हुनुपर्ने भन्दै अस्पतालमा दबाब दिन थालेपछि विवाद चर्कंदै गएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले बताए । मोहिनीले वडा कार्यालयमा समेत संरक्षकका लागि सिफारिस गर्न निवेदन दिइन् । अन्ततः सरकारबाट प्राप्त रकमको संरक्षकमा रुबीकै नाम कायम रह्यो ।

बिमाबाट प्राप्त रकममा भने मोहिनीले झगडा गरेर आफ्नो नामसमेत राख्न लगाएको रुबीका भिनाजु अशोक रजकले बताए । बिहे गर्ने उमेरमा एकल भएकी रुबीले अर्को बिहे गर्लिन भन्ने आंशका र अविश्वासले गर्दा सासूले दिनरात यातना दिएको रुबीकी दिदी मनीषाको भनाइ छ ।

पैसा र छोराछोरी लिएर बुहारी रुबी फरार भएको भन्दै मोहिनीले एक पटक प्रहरीमा समेत उजुरी गरेकी थिइन् । जेठ १७ गते उनीहरूबीच सहमति भई रुबी घर बस्न थालेकी थिइन् । रुबीमाथि भएको हिंसाका सम्बन्धमा २ पटक आफूले छलफल गरेर मिलापत्र गराएको इन्स्पेक्टर रामसागर सिंहले बताए ।

घरेलु हिंसाबाट असार ३१ गते पुनः कुटपिट भई रुबी अस्पतालमा भर्ना भएको रेकर्डबाट देखिन्छ । घरमा असुरक्षित महसुस गरेकी रुबीले साउन २ गतेदेखि हनुमाननगरस्थित मामाघरमा आश्रय लिएको हनुमाननगरका रामदेव रजकले बताए । उनी १२ किलोमिटर दूरीमा रहेको हनुमाननगरबाटै राजविराजस्थित अस्पताल आउने गर्थिन् । चाडपर्व नजिकिए पछि अबदेखि कुटपिट नगर्ने प्रतिबद्धता गर्दै सासू–ससुराले भदौ १ गते रुबीलाई हनुमाननगरबाट घर लगेको रुबीका मामा सदानन्दले बताए ।

रुबी आइतबार पनि अस्पतालस्थित फार्मेसीमा आएर काम गरेर घर गएको उनका सहकर्मीहरू बताउँछन् । सोमबार श्रीमान्को वार्षिक तिथि रहेकाले ३ दिन फामेर्सीमा आउन नपाउने भन्दै रुबीले बिदा मागेको फार्मेसीमा कार्यरत दिनेश यादवले बताए ।

बुवाको मृत्युको १ वर्ष नबित्दै आमाको मृत्युले बच्चाहरूमाथि अर्को बज्रपात परेको राजविराज नगरपालिका–२ का वडा अध्यक्ष अरुण यादव बताउँछन् । उनी भन्छन्, ‘घटनाले बच्चाहरूको भविष्यलाई पूरै अनिश्चित बनाइदिएको छ ।’ दिव्यंशले पढ्नसमेत सुरु गरेका छैनन्। कक्षा २ मा अध्ययनरत दीक्षाको पढाइ पनि अलपत्र परेको छ । ‘यिनीहरूलाई कसले पढाउँछ र हुर्काउँछ भन्दै छिमेकीहरू चिन्ता गर्छन् । दैनिक दुःख गरेर छोराछोरी हुर्काइरहेकी आमाको मृत्युपश्चात् छोराछोरीको भविष्य अन्धकार भएको छिमेकी मुकेश पाण्डेले भने ।

कुन तत्वले रुबीको मनलाई यस्तो अप्रिय निर्णय लिन उक्सायो वा अरू केही रहस्य छ ? यी प्रश्नहरूले मलामीहरूलाई झस्काइरहेको छ । बुवाको मृत्युपछि दीक्षा र दिव्यंशलाई आमाको एक मात्र सहारा थियो । त्यो सहारा पनि चुडियो । कोसी नदी किनारमा रूबीको चिता जलिरहेको थियो । चितालाई एकटक हेरिरहेका छोरा दिव्यंशको हृदयविदारक अनुहारले मलामीहरूको मन पोलिरहेको थियो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ l