काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसलाई बदनाम गराउनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सेटिङ गरेको खुलेको छ।
सत्ता नेतृत्व गरेको कांग्रेसलाई ७ र गठबन्धनमा रहेका माओवादी, नेकपा एकीकृत समाजवादी र जसपालाई ६–६ मन्त्रालय दिने सहमति भए पनि प्रधानन्यायाधीशसँग सेटिङ गरी दुई मन्त्री दिने प्रचण्डको बचन रहेको उच्च स्रोतले जनाएको छ।
गठबन्धनका अन्य दललाई पनि प्रचण्डले झुक्याएर अन्तिम अवस्थामा प्रधानन्यायाधीशलाई मन्त्री पद नदिए नेकपा एकीकृत समाजवादीका सांसदमाथि अन्तिम सुनुवाई गर्दै कारबाही हुन सक्ने भनेपछि देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मन्त्री दिन तयार भएका थिए।
यस विषयमा जनता समाजवादी पार्टीलाई पनि कुनै जानकारी दिइएको थिएन। ‘एकीकृत समाजवादी र जनता समाजवादीको मन्त्रालयको भागवन्डाको विवादको झ्याली पिटाइएको थियो तर प्रधानन्यायाधीशको कोटा कसरी सेटिङ गर्ने भन्ने सम्बन्धमा विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन ८८ दिनसम्म लागेको हो’, उच्च स्रोतले भन्यो।
गठबन्धनमा प्रचण्डले उक्त प्रस्ताव राख्दै नत्र माधव नेपालको पार्टीका १४ जना सांसदमाथिको कारबाही सदर हुने भयो भनेपछि यो बहस टड्कारो बनेको थियो। एमालेले १४ जना सांसदलाई कारबाही गर्न भन्दै रिट हालेको थियो जसउपर लामो समय सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको थियो भने अधिकांश पटक यो मुद्दा राणाले आफ्नो इजलासमा राखेका थिए।
अन्तिम समयमा मिडियामा उक्त खबर आएपछि प्रचण्डले राणालाई एक जना मानिस मात्र मन्त्री बनाउन सकिने र त्यो पनि राजनीतिक पृष्ठभूमीको नभए बदनाम हुने अवस्था आयो भनेपछि गजेन्द्र हमालको नाम प्रस्ताव भएको थियो।
मन्त्रिपरिषद विस्तारमा हमालको नियुक्ति विवाद हुँदा प्रचण्डले त्यसको बचाऊ गरेका छन्। उनले कांग्रेसको कोटाबाट मन्त्री भएको भनी शनिबार चितवनमा भनिदिएका छन्। तर, कांग्रेसका नेता शेखर कोइराला, धनराज गुरुङ र गगन थापाहरूले नै हमाल चोलेन्द्रका मान्छे रहेको भनी आलोचना गरिरहेका छन्।
यता कानुनविद, मिडिया र नागरिक समाजले पनि हमाल चोलेन्द्रको मान्छे रहेकाले गलत नजीर स्थापित भएको बताइरहेका छन्।