काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पनि मन्त्री बन्नेको नाम टुंगो लगाएको बताएको छ । जसपाका शीर्ष नेताहरुको बिहान बसेको बैठकले मन्त्रीहरुको नाम फाइनल गरेको हो । जसपाबाट राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्रीमण्डलमा सहभागी गराउने तय भएको बताइएको छ ।
बैठकको निर्णयअनुसार श्रेष्ठको नेतृत्वमा रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको हो। जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाएको छ ।
सरकार गठन भएको तीन महिना पुग्नै लाग्दा अपरान्ह नवनियुक्त मन्त्रीलाई सपथ गराउने सरकारको तयारी छ । नेकपा माओवादी केन्द्रले भने यसअघि नै मन्त्रीको नामावली प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाइसकेको छ ।
नेकपा एकीकृत समाजवादीले पनि आज विहान बसेर मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको बताएको छ ।
एकीकृत समाजवादीबाट विरोध खतिवडालाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरिएको छ भने यसअघि चर्चा गरिएकी रामकुमारी झाक्रीलाई पर्यटनमन्त्रालयको जिम्मा दिने बताइएको छ ।
समाजवादीबाट प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान सरकारमा जाने बताइएको छ ।