शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रदेश एकको अधिवेशन आजदेखि, मुख्यमन्त्री आचार्यको पद धरापमा

शुक्रबार, असोज २२ २०७८

काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री भीम आचार्य विरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी भएको छ ।  यसकालागि प्रदेश एकको संसद अधिवेशन आजबाट सुरु हुदै छ । 
विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिए पनि विश्वासको मतका लागि प्रस्ताव भने आज दर्ता नहुने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लछुमन तिवारीले जानकारी दिए  ।

तिवारीका अनुसार  आज संसदीय दलका नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ । उनका अनुसार विश्वासको मतका लागि प्रस्ताव भोलि बस्ने बैठकमा जानेछ ।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजै संसदमा प्रस्ताव टेबल गरेर दुई दिनपछि प्रकृयामा लैजानुपर्ने बताए। नेकपा एमाले विभाजनसँगै अल्पमतमा रहेका मुख्यमन्त्री आचार्यमाथि राजिनामाको दबाब बढेसँगै उनले विश्वासको मत लिन लागेका हुन् ।  

आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए ।  एमालेका ५१ सांसदहरुमध्ये १० जनाले माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद मात्रै देखिएको छ ।

कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

संघीय सरकारको मन्त्रालय बाँडफाँडमा दलहरुबीच प्रदेश एक र बाग्मती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।

सहमति अनुसार प्रदेश एकको मुख्यमन्त्रीमा सत्तारुढ दलहरुले एकीकृत समाजवादीलाई सघाउने छन् ।

यो सँगै आचार्यको पद धरापमा परेको छ ।