काठमाडौं । चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल पुगेको छ । टियु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो । चितवन पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।
पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो । चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो । पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४/ ४ विकेट लिए । सोमपाल कामी र करिम जनतले १/ १ विकेट लिए ।
अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।
पोखराले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा पोखराले एलिमिनेटरको विजेतासँग खेल्नेछ ।
आजै हुने एलिमिनेटरमा काठमाडौं किङ्स १/१ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।