काठमाडौं । मन्त्रालय बाँडफाँटबारे गठबन्धन दलहरुबीच लगभग सहमति जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष ’पुष्पकमल दाहाल प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमति अनुसार, कांग्रेसले अब सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य मन्त्रालयसहित ८ मन्त्रालय लिने भएको छ ।
कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन र स्वास्थ्य राज्यमन्त्री लिइसकेको छ । यसअघि अर्थ र उर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी र कृषि तथा पशुपंक्षी मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने मोटामोटी सहमति छ । एकीकृत समाजबादीले ४ वटा मन्त्रालय पाउने भएको छ ।
उसले रक्षा, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ ।
त्यस्तै जनता समाजवादीले पनि ४ वटा मन्त्रालय पाउने भएको छ । उसले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, संघीय मामिला, वन र श्रम मन्त्रालय लिने मोटामोटी सहमति भएको बताइएको छ ।
बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन।’ गठबन्धनका दलहरूले आज मन्त्रीको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराए भोलि (घटस्थापना) का दिन सरकारले पूर्णता पाउने स्रोतको दाबी छ।