काठमाडौं । काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन भएसँगै कार्यकर्तामा उत्साहको संचार भएको छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ । काठमाडौँ महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्यले लामो समयदेखि नभएको पार्टीको महानगर अधिवेशनले कार्यकर्ता उत्साहित भएको बताए ।
पार्टीका पुराना नेतासमेत रहेका शाक्य महानगर सभापति पदको उम्मेदवार हुन् । शाक्यसँगै नेपाल तरुण दल काठमाडौँका संस्थापक अध्यक्ष प्रगतिमान रञ्जित पनि महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा जुटेका छन् । महानगरमा यिनै दुई नेताबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
महानगरपालिकामा १२ औँ र १३ औँ महाधिवेशनका बेला नगर अधिवेशन नभएकामा यसपटक गर्न लागिएकाले कार्यकर्ता उत्साहित भएको जिल्ला सभापति सबुज बानियाँले बताए । काठमाडौँमा करिब १३ वर्षपछि महानगर अधिवेशन भएको हो ।
महानगरका ३२ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पार्टीका तर्फबाट निर्वाचित सांसद, प्रदेशसभा सदस्य, पार्टीबाट सांसद र प्रदेशसभा सदस्यमा उम्मेदवार भएका पदेन प्रतिनिधि भई निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था कांग्रेसको विधानमा रहेको जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बताए ।
चन्द्रागिरि नगरपालिकामा सर्वसम्मत सभापति चयनको प्रयास भइरहेको छ । पार्टीका सबै पक्ष नगर प्रमुखसमेत रहेका घनश्याम गिरीलाई सभापति बनाउन सहमत भएको बुझिएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयनको तयारी भएको कांग्रेस नेताले जनाएका छन् । दक्षिणकाली नगरपालिकामा भने विवादका कारण स्थगन गरिएको छ ।
कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा पनि आज नगर अधिवेशन सुरु भएको छ ।
बेलुका ५ः०० बजेपछि निर्वाचन कार्यक्रम सकिने छ ।
केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन भएका सबै जिल्लामा दसैँअघि नै स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको सचिव वरिष्ठ अधिवक्ता जगन्नाथ श्रेष्ठले बताए ।