शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमालेको जारी विधान महाधिवेशनमा समूहगत छलफल गरिदै, आजै निष्कर्ष पेश गरिने

शनिबार, असोज १६ २०७८

काठमाडौं । ललितपुरमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा आजबाट समूहगत छलफल हुँदैछ । गोदावरीमा हिजोदेखि सुरु भेलामा सहभागीहरुले आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि  १० वटा समूहमा रहेर छलफल गर्न लागेका हुन् ।   बिहान ८ बजेदेखि छलफल सुरु हुने र दिउँसो टोली नेताहरूले छलफलको निष्कर्ष पेस गर्ने कार्यक्रम छ । 

समूह ‘क’ को अध्यक्षता देवराज घिमिरेले गर्नुहुनेछ भने सहजीकरणका लागि भीम आचार्य र सुवास नेम्वाङलाई तोकिएको छ । समूह ‘ख’ को अध्यक्षता ज्वाला साहले तथा सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्नेछन् ।

समूह ‘ग’ को अध्यक्षता आनन्द पोखरेलले गर्नेछन् भने सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई दिइएको छ । समूह ‘घ’ को अध्यक्षता जगत विश्वकर्माले तथा सहजीकरण किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङले गर्नेछन् ।

समूह ‘ङ’ को अध्यक्षता लीला गिरि तथा सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले तथा समूह ‘च’ को अध्यक्षता गोरखबहादुर बोगटी तथा सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेलले गर्नेछन् । यसैगरी, उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरूका प्रतिनिधिहरूको समूहको अध्यक्षता सुजिता शाक्यले गर्नेछिन् भने सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई जिम्मा दिइएको छ ।  

जनवर्गीय सङ्गठनहरूबाट आएका प्रतिनिधिहरूको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तथा केन्द्रीय निकाय र आयोगहरूको समूह सहजीकरणको जिम्मेवारी अमृतकुमार बोहोरा र पुष्प कँडेललाई दिइएको छ ।

विधान संशोधन प्रस्तावमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, ६ सचिवसहित केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुने उल्लेख गरिएको छ ।

पार्टी प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि एमालेमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवको व्यवस्था थियो । त्यस्तै एमालेले पोलिटब्युरो कमिटी खारेज गर्ने प्रस्ताव पनि गरेको छ । 

एमाले विधानमा ७० वर्षे प्रावधान अहिले पनि निरन्तर रहने प्रस्ताव गरिएको छ ।  यो प्रस्ताव पारित भएमा तत्काल अध्यक्ष ओलीलाई फाइदा पुग्छ भने दोस्रो तहका धेरै नेता अर्को महाधिवेशनपछि कार्यकारी पदमा जान पाउने छैनन्।

भोलिसम्म चल्ने विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा नेता कार्यकर्ता सहभागी छन् । 

महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अध्यक्ष मण्डल, प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी गठन गरिएको छ।

अध्यक्ष मण्डल कमिटीको अध्यक्षमा केपी शर्मा ओली रहेका छन् भने सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन्।

त्यस्तै, प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी, सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा शिवमाया तुम्बाहाम्फे रहेकी छन्।