काठमाडौं । मलेसियामा जारी साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्सलाई १- ० ले पराजित गरेको छ ।
युवा फरवार्ड मनिष डाँगीको निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसिप २०२१ मा विजयी सुरुवात गरेको छ। मलेसियाको माले रंगशालामा नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई १–० गोलले हराउँदै सुखद् शुरुवात गरेको हो ।
नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । ८५ मिनेटसम्म दुबै टोलीले गोल गर्न सकेका थिएनन् । खेलको ६९ औं मिनेटमा नवयुग श्रेष्ठको साटो मैदान प्रवेश गरेका मनिषले खेल सकिन करीब ४ मिनेट बाँकी रहँदा, काउन्टर अट्याकमा आएको आक्रमणलाई अघि बढाउँदै, तीन डिफेन्डरलाई छक्काएर वन भर्सेस वनको स्थितिमा गोल हानेका हुन् ।
जितसँगै नेपालले ३ अंक जोडेको छ। नेपालले, साफको अघिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३–० ले हारेको बदला समेत लिएको छ । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २- १ ले हराएको थियो ।
अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ।