काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा विराटनगर वारियर्समाथि दुई विकेटको जित हात पार्दै चितवनले सुखद सुरुवात गरेको हो ।
विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा राजेश पुलामीले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।विराटनगरका सिकन्दर राजा र करण केसीले समान २- २ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।
खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । जीतसँगै चितवनले पहिलो खेलबाट २ अंक जोडेको छ । योसँगै चितवन दोस्रो स्थानमा छ ।
विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।