काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर अधिवेशन आजदेखि सुरु हुदैँछ । वडा अधिवेशन सकिएका ६४ जिल्लाका अधिकांश पालिकामा आज अधिवेशन हुन लागेको हो ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।
काँग्रेसले पहिलो चरणमा ५७ र दोस्रो चरणमा ७ सहित ६४ जिल्लामा वडा अधिवेशन सेकेको छ । काठमाडौं, ललितपुर लगायतका जिल्लामा वडा अधिवेशन सकिएपनि आज पालिका अधिवेशन नहुने भएको छ। काठमाडौंका पालिकामा १६ गते अधिवेशन हुने भएको छ। ललितपुरको पालिका स्तरको अधिवेशन सोमबार हुने भएको छ । प्राविधिक कारण तथा वडा अधिवेशनबाट निर्वाचित सूची तयार गर्न समय लागेकोले सारेको बताइएको छ ।
त्यस्तै, काभ्रेमा निर्वाचन अधिकृत बेपत्ता भएको भन्दै गाउँ/ नगर अधिवेशन अनिश्चितकालका लागि रोकिएको छ। वडा अधिवेशन नै बाँकी रहेका १३ जिल्लामा भने कहिले वडा अधिवेशन गर्ने भन्ने भझै निर्णय भएको छैन ।
प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवादका कारण अधिवेशन अन्यौल भएको हो ।
कांग्रेसले हिमाली २१ जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। पहाड र तराई क्षेत्रमा भने दसैंलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ।
जिल्ला अधिवेशन अघि, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि हुनेछन् । पूर्वनिर्धारित तालिकाअनुसार असोज १८ मा जिल्ला अधिवेशन हुन लागेको हो।
कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तालिका बनाएको छ ।