काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले मुगुका ५९ वर्षीय नाङ्गे तामाङ लामालाई पक्राउ गरेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार लामाले २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा गैँडा मारेका थिए । घटनाको अनुसन्धानका क्रममा चोरी शिकारीमा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेका छन् । अधिकारीका अनुसार फरार १० मध्ये लामा अहिले पक्राउ परेका हुन् । उनलाई पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएको छ ।
यसैबीच,
मोटरसाइकल चोरी गर्ने गिरोहले माग अनुसारका मोटरसाइकल चोरी गर्ने गरेको रहस्य खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।
मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताएका हुन् । पक्राउ परेकाहरुको वयानका अनुसार उनीहरुले ग्राहकको माग अनुसारका ब्राण्ड, रङ, मोडल खोजीखोजी चोरी गरेको थिए ।