काठमाडौँ । कोरोना महामारीका कारण लगानीका ढोका बन्द भएपछि गत पुषमा बैंकहरुमा २ खर्ब बराबरको रकम थुप्रिएको थियो । तर, पछिल्लो समयमा बैंकहरुले उच्च मात्रामा कर्जा बृद्धि गरेसँगै यस्तो रकम १५ अर्ब ७५ करोडमा सिमित भएको छ ।
राष्ट्र बैंकले यसरी लगानीयोग्य रकमको अभाव भएर ब्याज माथि जान नपाओस् भन्नका लागि थप ७० अर्ब रिपो जारी गरिसकेको छ । लगानी गर्ने रकम जुटाउन एक बैंकले अर्काे बैंकसँग लिने ऋण तथा सापटीको ब्याजदर पनि शुन्य दशमलव पाँचबाट बढेर बढेर अहिले चार दशमलव आठ पुगेको छ ।
यसरी लगानी योग्य रकममा चाप परेपछि अब बैंकहरुले ग्राहकको निक्षेपमा दिने ब्याजदर बढाएर रकम तान्न सुरु गरेका छन् । गत एक महिनामा नै बैंकहरुले मुद्दति निक्षेपमा दिने ब्याज तीन प्रतिशतसम्म बढाएको देखिन्छ ।
सनराइज, सेञ्चुरी, ग्लोबल आइएमई, सानिमा, सिद्धार्थ, एनएमबी, मेगा, बैंक अफ काठमाडौं र नेपाल बंगलादेश बैंक उच्च मात्रामा ब्याज बढाएका छन् ।
निक्षेप आउने भन्दा कर्जा बढि जानेभएपछि लगानी गर्ने रकम जुटाउन ब्याज बढाउनु परेको बैंकर्स बताउँछन् ।
ऋणको माग ह्वात्तै बढेपछि बैंक तथा वित्त संस्थाले लगानीयोग्य रकम संकलनका लागि निक्षेपको ब्याजदर बढाएका हुन् । यसरी निक्षेपको ब्याज बढेसँगै अब कर्जाको ब्याजदर बृद्धि हुने र त्यसले उत्पादन लागतसँगै महामारीबाट थलिएका ब्यापारी ब्यवसायी थप मारमा पर्ने देखिएको छ।
गत तीन वर्षमा निक्षेपको ब्याजमा भारी गिरावट आयो । यता कर्जाको औसत ब्याजदर पनि चार प्रतिशतले घटेको थियो । तर अब यो बिस्तारै उकालो लाग्ने संकेत देखिएको छ। बढि ब्याज दिएर संकलन गरेको निक्षेपको खर्च धान्न बैंकहरुले अब कर्जाको ब्याज बढाउनेछन् । जसले आन्तरिक बजारको उत्पादनको लागत बढ्ने देखिन्छ ।
ब्याजदर कम भएकै कारण उच्च मात्रामा बढेको सेयरबजारमा त यसको असर देखिनै सकेको छ । महामारीबाट भर्खरै तंग्रिन थालेका ब्यापारी उद्योगी तथा व्यवसायी अब थप बढ्दो ब्याजको मारमा पर्ने देखिएको छ ।
बढ्दो ब्याजदरका कारण नयाँ उद्योग तथा ब्यापार स्थापना हुने कम हुनसक्छ । यसलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर माथि जान नदिन बित्तीय औजारको प्रयोग बढाउनुपर्ने जरुरी देखिन्छ ।