काठमाडौँ l नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा मिडिया, बुद्धिजिवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
काठमाडौंमा मदन भण्डारीको जीवनीमा आधारित एक पुस्तक विमोचन समारोहमा बोल्दै ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताए ।
‘अस्तीको दिन बितरण गरेको जस्तो पदकहरु हामीले बितरण गरेको भए….बा बा । अहिले त खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, अब कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि पदक दिएको छ, अब कसले बहस गर्ने ? विरोध गर्ने मिडिया, टेलिभिजनलाई पनि दिएको छ, कसले विरोध गरिदिने ? कसले बोल्ने ?,’ ओलीले अघि भने, ‘कस्तो सबैतिर मिलाएर ढ्याक ढ्याक ढोका थुन्या हो ? कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । यति गरेपछि त विरोधी नै रहेनन् ।’
अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गरे। सरकारले युवा पुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ।
उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोधसमेत गरे। सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ?