काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र शक्ति केन्द्रको वरिपरि घुमेर अनेकौं पटक लाभ लिने नेता हुन् बर्षमान पुन।
उनी पटक–पटक मन्त्री बनाइए। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वरिपरि घुमेका भरमा पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पनि रहेका पुनले प्रचण्डको चाकरी गर्नुपर्ने शैलीले धारणा राखेपछि अर्का नेता बतासिएका छन्।
प्रचण्डको बडीगार्डदेखि गृहमन्त्रीसम्म भइसकेका शक्ति बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत पुनलाई जवाफ दिएका छन्। उनले नेतृत्वको वरिपरि घुम्ने भन्दा पनि माओवादी आन्दोलन र क्रान्तिलाई बलियो बनाउनका लागि अग्रसर हुन सुझाव दिएका छन्।
त्यसो त माओवादीभित्र शक्ति केन्द्रको रवाफ कम छैन। अर्थमन्त्री रहेका जनार्दन शर्मादेखि प्रचण्डकी बुहारी बिना मगरसम्मले मन्त्री हुने मौका गुमाएका छैनन्। प्रचण्ड आफैंले पनि सय जना मन्त्री बनाइसकेको दाबी गरेका छन्। तर, अवसर र लाभ लिनेले यसरी रवाफ देखाउन छाडेका छैनन्।
एक जना पूर्वमाओवादी नेता भन्छन्,‘अहिले बर्षमानले अवसर पाइरहेका कारण प्रचण्डको भजन गाइरहेका छन्। उनका त पतिपत्नीले नै अवसरमाथि अवसर पाइरहेका छन्। जसले ठूलो जिम्मेवारी पाएका छैनन्, जवाफ दिनु स्वभाविक हो।’
सत्ता गठबन्धनमा रहेको माओवादीभित्र शक्ति सन्तुलनको विषयमा धेरै झगडा गर्नेचाहिँ नारायणकाजी श्रेष्ठ हुन्। उनले प्रचण्डको आलोचना गरेकै कारण अहिले कर्नरमा राखिएका छन्।