काठमाडौं– विद्यार्थी राजनीतिबाट एमालेमा उदय भए पनि भौगोलिक ग्राउन्डमा हाइप्रोफाइल नेताका कारण उठ्न नसकेकी रामकुमारी झाँक्रीको राजनीतिक यात्रामा नेकपा एकीकृत समाजवादी आँखीझ्याल बन्यो।
एमाले विभाजनका लागि उनको जोडबल निर्वाचन आयोगमा माधवकुमार नेपाललाई डोहोराउने क्रममा नै देखिएको थियो। कतिपयले त्यस परिदृश्यलाई अनेक हिसाबले बयानबाजी गरे। एकीकृत समाजवादीकी सांसदका रुपमा प्रतिनिधि सभामा पुग्ने उनका राजनीतिक दुख कम छैनन्।
अहिले सत्ता गठबन्धनमा मन्त्री बन्नु झाँक्रीको पहिलो सर्त हो। उनका नजिकका सहकर्मी भन्छन्,‘मन्त्रीका लागि जोडबल गर्ने हो। उहाँ जत्तिको मान्छे मन्त्री नभए त यो सरकारको के भ्यालु?’
तर अदालतमा रहेको मुद्दाका कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई रामकुमारीको पार्टीले मन्त्रीको नाम दिन सकेको छैन। अर्कातिर नेता नेपाल नै उनलाई मन्त्री बनाउने मुडमा नरहेको कतिपयको बुझाई छ।
गठबन्धन सरकारमा मन्त्रीका लागि रामकुमारीको जोडबल यात्रा तैपनि जारी छ। तर उनलाई प्रमुख सचेतकमा नै थन्क्याउलान् कि भन्ने चिन्ता पनि छ। यता अदालतमा एमालेले हालेको मुद्दाले सांसद पद खारेजी भए राजनीतिक जीवनमा नै नमिठोगरी पछारिने अर्को त्रासदी छ। रामकुमारीका दुख कम छैनन्।
सतहमा पनि आगामी दिनमा उनका राजनीतिक यात्रा कष्टप्रद रहेका छन्। गुल्मीकी उनलाई चुनावी क्षेत्रमा हाइप्रोफाइल उम्मेदवारका कारण मैदानमा उत्रिन कठिन छ। ‘छुच्चो बोलीबचन, नमिठा बयानबाजी त एकातिर छन् अर्कातिर ठाउँ कहाँ छ र? राजनीति गर्नका लागि बोली र मिडियालगायतमा आएर मनमौजी बोल्नु मात्र काफी हुँदैन’, रामकुमारीकै सहकर्मीहरु भन्छन्,‘ग्राउन्ड बलियो बन्नुपर्छ।’
कतिपयले उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन सकिने बताउँछन्। तर, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको एकछत्र रहेको क्षेत्र उनका लागि निक्कै चुनौतिपूर्ण हुने पनि चर्चा छ ।