काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । हिजो भएको खेलमा चेल्सीले टोटेनहमलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको मैदानमा चेल्सीलाई जित दिलाउन थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले गोल गरे । जितसँगै चेल्सीले ५ खेलमा १३ अंक जोडेको छ । चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहम ९ अंक जोडेर सातौं स्थानमा रहेको छ । चेल्सीका बोस थोमस टुचुलले मध्यान्तर अघिको खेल सुधार्नु आवश्यक रहेको बताएका छन् ।
त्यस्तै म्यानचेस्टर युनाईटेडले पनि रोमान्चक जित निकालेको छ ।
युनाईटेडले वेस्ट ह्याममाथि २–१ गोल अन्तरको जित निकालेको हो । वेस्ट ह्यामको मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले एक एक गोल गरे ।
जितसँगै युनाईटेडले ५ खेलमा १३ अंक जोडेको छ । युनाईटेड तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।