काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेपछि उनले यस्तो जानकारी दिएका हुन् । राजधानीको बानेश्वर–आलोकनगरमा रहेको पार्टी कार्यालयको मासिक भाडा ३ लाख रहेको छ । नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बताए ।
पार्टी कार्यालय रहेको घर चार तले रहेको छ भने अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पुरा भएपछि एकीकृत समाजवादी पार्टीले नै प्रयोग गर्नेछ । मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुनेछ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।
उनले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताए । सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको बताउँदै उनले भने, ‘यस अर्थमा हाम्रो भूमिका सरकार सञ्चालनमा रहने छ, सहयोगी रहनेछ, सहकार्य गर्नेछौं, सँगसँगै अगाडि बढ्ने छौं । सरकारमा हामी सामेल हुनेछौं ।’
संघीय सरकारमा सामेल हुने बताउँदै नेता नेपालले प्रदेश–१ र बागमती प्रदेश सरकारमा पनि ‘महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताए । ‘सातै वटा प्रदेशमा पनि हाम्रो सहभागिता रहनेछ,’ उनले भने ।
अध्यक्ष नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित कम्युनिष्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुन सक्ने बताए । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालले दाबी गरेका छन् ।