काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँमा सुरु भएको छ । पर्यटकीय क्षेत्र बन्दीपुरको एउटा होटलमा सुरु भएको नेकपाको ११औँ केन्द्रीय कमिटी बैठकले खुल्ला राजनीतिमा आइसकेपछिको रणनीति तय गर्ने बताइएको छ ।
बैठकमा सहभागी हुन महासचिव विप्लव हिजै बन्दीपुर आइका हुन् । बैठक आगामी मंगलबार सम्म जारी रहने नेकपाका तनहुँ जिल्ला सचिव एटमले बताए । बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले बनाउने एटमको भनाई छ ।
बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।
बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् ।
बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने नियम लगाइएको छ ।
बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।