काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादीमा रोज्न पाउने भएका छन् ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा कुनै कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर भदौं २ गते दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेको थिएन ।
एकीकृत समाजवादी रोज्न पाउनुपर्ने दुवैले हालेको रिटमा न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चको आदेशसगै एकीकृत समाजवादीको सांसद संख्या बढेर प्रतिनिधीसभामा २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।