काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेसँग देशलाई समाजवादतिर लैजानका लागि एकता गरिएको भए पनि उनकै कारण सम्भव नभएको बताएका छन् ।
आफ्नो उद्देश्य विपरीत ओली दक्षिणपन्थी धारतिर अघि बढेपछि एकता बीचमै भङ्ग हुन पुगेको पनि उनले बताएका छन् । माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रममा आइतबार बोल्दै प्रचण्डले क्रान्तिबारे अझै पनि आफूहरुले बुझिनसकेको पनि बताए ।
अध्यक्ष प्रचण्डले कहिलेकाहीं माओलेझैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाए । अध्यक्ष प्रचण्डले माओले पार्टीमा आफू एक्लो महसुस गरेको सम्झिए । ‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ उनले भने, ‘कहिलेकाहीं मलाई पनि शायद एक–दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’
अध्यक्ष प्रचण्डले अरु सबै खराब आफू मात्रै ठीक भन्नेहरुले उपदेश दिने गरेको पनि बताएका छन् । ‘अरु सबै खराब म चाहिँ ठिक भनेर उपदेश दिने धेरै भए । मार्क्सवादमा धेरै सत्य छन् तर विद्रोह जनताको अधिकार हो भन्ने कुरा मुख्य हो’, उनले थपे, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा भएका बलिदानका कीर्तिमानलाई सम्मान गर्न र नाम लिन डराउनेहरु अझै पनि यहाँ रहेछन् ।’
उनले त्यत्रो वर्ष जनयुद्ध गरेर आएको आफ्नै नाम लिन पनि नसक्नेहरु अझै यो समाजमा रहेको भन्दै गुनासो गरे । ‘अहिले पनि माओवादीको नाम लिन मान्दा रहेनछन् । प्रचण्डको त नाम आउँछ जस्तो गर्दा रहेछन्’, उनले भने, ‘नेपालको कम्युनिष्ट इतिहासमा भएका कुराहरुलाई समेट्ने क्रममा यो पुस्तकका लेखक परशुराम तामाङले सबैको नाम उल्लेख गर्नु भएको छ । तर अझै पनि केही मानिसहरु हाम्रो नाम लिन नसक्दा रहेछन् ।’
उनले तत्कालीन एमालेसँग एकता गर्दा आफूले जोखिम मोलेको बताए । ‘समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो’, उनले भने, ‘गठबन्धन बैठकमा मलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर सोधिरहन्छन् । ज्ञान प्राप्त गरेर आएँ भनेको छु । यो ज्ञान सजिलै प्राप्त गर्ने कुरा थिएन । ओलीसँग एकता गरेर मात्रै प्राप्त हुने थियो । प्रचण्डको यही ज्ञानले गर्दा वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो ।’
उनले अब आफ्नो अनुभवबाट सिक्नेतिर लाग्न पनि आग्रह गरे । ‘मेरो अनुभवबाट केही सिक्ने कि प्रचण्डलाई सिद्धयाई दिऊँ भन्नु हुन्छ ?’, उनले सोधे, ‘हामी अब उमेरले पनि उत्तरार्द्धमा पुग्यौं । अन्तिमसम्म पदमा, नेतृत्वमा बसिरहन मन छैन । माथि जाँदा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर जान मन छ ।’