शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमसीसीका कारण सत्ता गठबन्धन भत्किने खतरा, यसरी जोडिँदैछन् कांग्रेस–एमाले

आइतबार, भाद्र २७ २०७८

काठमाडौं। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतका कारण ५ दलीय सत्ता गठबन्धन भत्किने खतरा बढेको छ।

एमसीसीका अधिकारी फतिमा सुमारसहितको टोली काठमाडौं उत्रिएपछि सत्ता गठबन्धन भत्किने र सदनका दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्य बढ्ने अनुमान गरिएको छ।

सत्ता गठबन्धन घटक नेकपा माओवादी कुनै पनि हालतमा एमसीसी पास हुन नदिने निर्णयमा पुगेको छ। उक्त दलका सचेतक देव गुरुङले अमेरिकाले चित्तबुझ्दो जवाफ नदिएका कारण एमसीसी पास गर्न नदिने बताएका छन्। 

वाईसीएलको एउटा बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ आए पनि एमसीसी पास हुन नदिने बताएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रतिपक्षी दल एमालेसँग सहकार्यका लागि हात बढाउन तयार भएका छन्। 

उनले सदन चलाउनका लागि प्रतिपक्षी दलको विश्वास जितेर जानुपर्ने बताएपछि राजनीतिले फरक मोड समेत लिएको छ। त्यहिँमाथि एमसीसीकी उपाध्यक्ष सिधै प्रधानमन्त्री देउवालाई भेट्नुअघि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुग्नुले पनि कांग्रेस–एमाले सहकार्यको गन्ध आएको छ। एमसीसीप्रति एमाले अध्यक्ष ओली सकारात्मक देखिएका थिए। 

एमसीसी प्रतिनिधि सभामा टेबल नगरेका कारणले नै तत्कालिन सभामुख कृष्णबहादुर महरालाई हटाउनेसम्मको काम भएको थियो। त्यसपछि माओवादी कोटाबाट नै सभामुख भएका अग्नी सापकोटाले एमसीसी सदनमा छिराएका छैनन्। तत्कालिन प्रधानमन्त्री ओलीले यहि कारण पनि सदन विघटन गरेको चर्चा थियो। 

पुनः प्रधानमन्त्री देउवाले एमसीसी टेबल गराउन खोजिरहेका बेला माओवादी बाउँठिएपछि सत्ता समीकरण नै बदलिने वा पुनः प्रतिनिधि सभा विघटन भई चुनाव हुनसक्ने बताइएको छ।