काठमाडौँ । सत्ता पक्षीय गठबन्धनको बैठक आज पनि बस्दै छ। बैठक विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाईएको छ। आजको बैठकमा एमालेको संसद अबरोध, सरकार विस्तार र सरकारले पेश गर्ने तयारी गरेका विधेयकका विषयमा छलफल हुने बताईएको छ ।
त्यस्तै गठबन्धनको नियमित बैठक बस्दै आए पनि सरकार विस्तारमा कुनै निर्णय नभएको भन्दै सर्वत्र आलोचना हुन थालेको छ । गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको नेताहरुले बताउदै आएका छन् ।
दल विभाजनपछि दल रोज्ने समयसिमा सकिदासम्म पनि नेकपा एकीकृत समाजवादीसहितका दलहरुले नाम दिन नसक्दा सरकार दुई महिना यता ४ जनाको भरमा चलिरहेको छ । आजको बैठकले संसदमा एमालेको सामना गर्ने रणनीति समेत तयार गर्ने बताइएको छ ।
त्यस्तै बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।