काठमाडौं । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले आज प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेकी छन् । । प्रधानमन्त्रीलाई भेट्न सुमार नेतृत्वको टोली अपरान्ह बालुवाटार पुगेको थियो । भेटमा नेपालको आर्थिक रूपान्तरणमा त्यसको एमसीसीको भूमिकाका बारेमा सुमारले प्रधानमन्त्रीलाई ब्रिफिङ्ग गरेकी थिईन् ।
जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताएका थिए । सुमारसँग भएको भेटपछि ट्विट मार्फत देउवाले एमसीसी सम्झौता लगायत नेपाल र अमेरिकाबीचको द्धिपक्षीय साझेदारीबारे छलफल भएको जनाएका छन् ।
एमसीसीका विषयमा अन्य दलहरुले सरकारको धारणा पर्खिरहेका छन् । अर्थ मन्त्रालयले भोलि विहान सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ ।
नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे जानकारी लिन उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबारदेखि नेपाल भ्रमणमा छ ।
सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग छलफल गर्न सुमार नेतृत्वको टोली नेपाल आएको हो । टोलीले लगभग सबैसग छलफल गरिसकेको छ । टोली अझै दुई दिन नेपालमै रहने बताईएको छ ।
टोलीले आज एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग छुट्टा छुट्टै भटेको छ । आजै सो टोलीले नेपाली काङ्ग्रेसका अन्य नेताहरूसँग पनि छलफल गरेको छ ।
एमसीसीका विषयमा नागरिक स्तरबाट विरोध भइरहदा सुमारले सबैसगको भेटमा सम्झौता संसदबाट पारित गर्न दबाब दिदै आएको बताइन्छ ।