काठमाडौँ l प्रमुख विपक्षी नेकपा एमालेले आज (शुक्रबार) स्थायी कमिटी बैठक बस्ने भएको छ l
बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गरिनेछ।
६–७ असोजका लागि निर्धारित विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार गरिदैँछ। एमालेले मंसिर १० देखि १२ का लागि महाधिवेशनको तिथि पनि तय गरेको छ।
स्थायी कमिटी बैठक शुक्रबार ४ बजे तुल्सीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने तय भएको छ। बैठकमा चालु संसदमा पार्टीको भूमिकाबारे पनि छलफल हुनेछ। एमालेकै अवरोधका कारण मंगलबारको संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो।
स्थायी कमिटी बैठकको निर्णय २७ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि राजनीतिक प्रतिवेदनलगायत निर्णयको अन्तिम खाका बन्नेछ।